फाइल तस्वीर
कञ्चनपुर— बेलौरी नगरपालिका –३ का समिर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहज रुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन ।

हप्ताको प्रत्येक शनिवार बेलौरी – ८ कलकत्तामा हाटबजार लाग्ने गरेको छ । त्यही बजारमा चौधरीले च्याउ, काउली, गोलभेडा, आलु, खुर्सानी, सिमला मिर्च, भण्टा, प्याज लगायत बेच्नुहुन्छ । तीन हप्ता देखि उहाँले निरन्तर रुपमा हाटबजारमा पुगेर तरकारी बेच्दै आउनु भएको छ । “काउली मात्रै प्रति हप्ता दुई देखि तीन कुण्टल बिक्री हुने गरेको छ” उहाँले भन्नुभयो, “तीन किलो काउली रु सयमा बिक्री गरि रहेका छौं ।” अन्य तरकारी रु ५० देखि रु सय प्रति किलोका दरले बिक्री हुने गरेको उहाँको भनाई रहेको छ ।

“हाटबजार सञ्चालन नहुदा साईलमा गाउँ गाउँ पुरयाएर तरकारी बेच्दा निकै श्रम गर्नु पर्ने अबस्था थियो” उहाँले भन्नुभयो, “दिनभरी साइकल डुलाउदा तरकारी बिक्री नभए निकै निराश हुनु पर्ने अबस्था थियो, हाल हप्ताको एक दिन लाग्ने हाटबजारमा तरकारी हातो हात बिक्री हुन्छ, बाँकी अरु दिन थोक व्यापारीलाई तरकारी बेच्छौं ।” हाटबजारमा तरकारी बेच्दै आउनु भएका राजेश केसी हाटबजार सञ्चालनमा आएपछि किसानलाई बारीमा उत्पादित तरकारीका लागि बजार खोज्दै हिडनु पर्ने अबस्थाको अन्त्य भएको बताउनुहुन्छ ।

महिनामा तीन, चार दिन हाटबजार लाग्ने भएकाले किसानको तरकारी महेन्द्रनगर, धनगढी लगायत बजारबाट आएका व्यापारीले खरिद गरी लग्ने गरेको उहाँले बताउनु भयो । केसी जस्तै हाटबजारमा अनिल चौधरीले आफनै फर्ममा पालेका बंगुर र कुखुराको मासु बिक्री गर्दै आउनु भएको छ । हाटबजारमा लाग्ने दिन उहाँले ५० देखि ८० किलो सम्म बंगुरको मासु रु तीन सय ८० का दरले बिक्री गर्नु हुन्छ । कुखुराको मासु भने रु २० देखि रु २५ किलो सम्म रु तीन सय ४० का दरले बिक्री हुन्छ ।

“हाटबजारमा बंगुर र कुखुराको मासु बिक्री हुन थालेपछि ग्राहक नपाउदा विगतको जस्तो भौतारीदै हिडनु परेको छैन” उहाँले भन्नु भयो, “हाटबजार नभएका बेला गाउँमै सञ्चालित पसलबाट मासु बिक्री गर्दै आएका छौं ।” हाटबजारमा चिनजान भएका व्यापारीले फार्मबाटै कुखुरा र बंगुर खरिद गर्न पनि आउन थालेको उहाँको भनाइ रहेको छ । हाट बजारमा ७५ पसल सञ्चालका लागि प्रदर्शनी कक्षको व्यवस्था गरिएको छ । यसमा हाल तरकारीका १०, कपडाका ३०, मासुका सात, मिठाई लगायत खाद्य परिकारका सात वटा गरी ५४ वटा पसल सञ्चालनमा रहेका छन । गत वर्षको दशैं अघि देखि हाटबजार सञ्चालमा ल्याईएको हो । त्यसपछि हाटबजार निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । हाटबजार सञ्चालनका लागि स्थानीय कोपिला चौधरीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । पहिलो पटक हाटबजार आब ०६०/६१ मा सञ्चालन गरिएको हो । केही वर्ष सञ्चालन पछि बन्द भयो । त्यस पछि विसं २०७३ सालमा पुनः सञ्चालनमा ल्याईयो ।
“हाटबजार सञ्चालनका लागि प्रकृया अगाडी बढाउदा बढाउदै कोरोना महामारी आयो, सञ्चालन गर्न सकेनौं” अध्यक्ष चौधरीले भन्नु भयो,“ त्यस पछि गत वर्षको असोज १२ गते देखि निरन्तर रुपमा हाटबजार सञ्चालन हुँदै आएको छ ।” तीन महिना सम्म हाटबजारमा आउने किसानलाई निःशुल्क रुपमा स्टलमा सामान राखेर बेच्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत वर्षको माघदेखि प्रदर्शनी कक्षमा कृषिजन्य, मासुजन्य र अन्य पसल सञ्चालन गर्ने व्यवसायीबाट रु ५० शुःल्क लिन थालिएको छ । चनाचटपटे, चाट लगायतका स साना पसलबाट रु ३० र टोकरीमा सामान ल्याएर बेच्ने किसानलाई निःशुल्क बेच्न दिने व्यवस्था गरिएको छ ।

हाटबजार व्यवस्थापन गर्नका लागि नगरपालिकाले रु चार लाख अनुदान रकम प्रदान गरेकोमा जसबाट तारजाली राख्ने, गेट निर्माण, पानीको धारा र विद्युतको व्यवस्था मिलाईएको अध्यक्ष चौधरीको भनाई रहेको छ । हाटबजारमा प्रत्येक हप्ता रु पाँच लाख देखि रु सात लाख सम्मको कृषिजन्य बस्तुको खरिद बिक्रीको कार्य हुने गरेको छ ।

“हाटबजारमा विशेष गरी स्थानिय किसान र स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर बेच्न दिने गरेका छौं” उहाँले भन्नुभयो, “जसबाट स्थानिय उत्पादनको बजारीकरणमा टेवा पुगेको छ ।” हाटबजारमा स्थानिय कृषि उत्पादन ल्याएर बिक्री गर्न आउने किसानको सङख्या बढदै गएकाले स्टलको कमी, धारा, सौचालयको अभाव हुन थालेको उहाँको भनाइ रहेको छ ।

हाटबजारमा सामान बेच्न आउने र खरिद गर्न आउने व्यक्तिहरुका सवारी र ढुवानीका सधन पार्किङ गर्नका लागि ठाउको अभाव रहेको छ । हाटबजार अढाई कठ्ठा जग्गामा सञ्चालन हुदै आएको छ । हाटबजार सञ्चालन भएपछि व्यवसायीक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङख्या बढदै जान थालेको छ । “व्यवसायीक कृषि छाडेका किसान पुनः पुरानै तरिकाले खेती गर्न थालेका छन” नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक हरिश सेठीले भन्नुभयो, “नगरपालिका क्षेत्रबाट दैनिक दुईदेखि तीन मिनी ट्रक तरकारी कैलालीको धनगढी तर्फ निर्यात हुन थालेको छ ।” हाटबजारमा व्यापारीले आएर किसान संग कुरा गरी तरकारी खरिद गरेर लैजाने गरेको उहाँको भनाइ छ ।

स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पुरयाएकाले केही महिना भित्रै नगरपालिकाको वडा नं २ र ४ मा थप हाटबजार सञ्चालन ल्याउनका लागि संभाव्यता अध्ययन भैरहेको उहाँले जानकारी दिनुभयो । “पहिले पनि नगरपालिका क्षेत्रमा तीन हाटबजार सञ्चालनमा थिए” उहाँले भन्नुभयो, “दुई बन्द भए हाल एक मात्रै सञ्चालनमा छ ।” नगरपालिकामा वडा नं ३ र ५ मा तरकारी बिक्रीका लागि सङ्कलन केन्द्र सञ्चालित छन ।