औद्योगिक नीति तथा श्रम सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महत ।


ललितपुर — अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले आज बिहीबार ललितपुरमा आयोजना गरेको ‘औद्योगिक नीति तथा श्रम सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको हो ।

देशमा पर्यटकहरुको आगमनमा वृद्धि, बैंक तथा वित्तीय संस्थाहरुको घट्दो ब्याजदर र रेमिट्यान्स वृद्धि हुँदै गएकोले अहिले देशको अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भन्नुभयो — “अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ”, अर्थमन्त्री महतले भन्नुभयो, “नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।”

मन्त्री महतले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राख्नुभयो । उहाँले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताउनुभयो ।

बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने ओैद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राख्नुभयो । उहाँले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्नुहुँदै मन्त्री महतले “उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ”, बताउनुभयो ।

अर्थमन्त्री महतले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको उल्लेख गर्नुहुँदै यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुनुपर्नेमा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको चर्चा गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताउनुभयो ।