फाइल तस्वीर
डुम्रे — तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ ।

खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख राजेशकुमार चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार प्रदेश सरकारले बाँझो जमिनलाई उपयोगमा ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाँझो जग्गामा घाँस खेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० पारित गरी कार्यान्वयनतर्फ अघि बढाएको हो ।

युवाहरु वैदेशिक रोजगारीमा आकर्षित हुँदा गाउँ युवाविहीन हुने अवस्था आएपछि खेतीपाती र पशुपालनमा जनशक्ति अभाव भएकाले यो कार्यक्रम ल्याइएको प्रमुख चौधरीको भनाइ छ । साथै बाँदर आतङ्कका कारण पनि खेतीयोग्य जमिन बाँझिने क्रम बढेपछि पशुपालनमा प्रोत्साहन गर्न कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार अनुदानको व्यवस्था गरिएको छ । तीन वर्षसम्म उपयोग नभएको खेतीयोग्य भूमिलाई अनुदानको व्यवस्था गरी कृषि र पशुपालनतर्फ प्रोत्साहन गरिएको केन्द्रका प्रमुख डा चौधरीले जानकारी दिनुभयो ।

अनुदानका लागि कार्यालयले तोकेका घाँसका बिरुवा लगाउनुपर्ने प्रावधान निर्धारण गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपिएर, मठ नेपिएर, सुपर नेपिएर, रेड नेपिएरलगायतका उन्नत जातका डाले घाँस लगाउनुपर्ने हुन्छ ।

खेतीयोग्य जमिनको सदुपयोग हुने र पशुचौपायका लागि दाना खर्च घटाउने लक्ष्यका साथ प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा छ सय २० रोपनी जमिनमा घाँसखेती गर्नका लागि रु १८ लाख ६० हजार बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । व्यावसायिक कृषक, समूह तथा सहकारीमार्फत पालिकाको समन्वयमा प्रस्ताव सङ्कलनको काम गरिरहेको ठकुरीले बताउनुभयो । पशुपालक कृषकसँग सहकार्य गरी घाँस बिक्री गर्न सकिने केन्द्रले जनाएको छ ।

घाँसखेती प्रवर्द्धन भएपछि किसानले पराल प्रतिकिलो रु १५ मा किन्नु परेको तर घाँस भने रु पाँचमा बिक्री गर्न सकिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अन्नबाली खेती गर्दा बाँदरले क्षति पु¥याउने, तुलनात्मक रूपमा आम्दानी कम हुने भएकाले युवा कृषि पेसाबाट विमुख हुन थालेका छन् ।

खेतीमा लगानीअनुसार मुनाफा नहुँदा पेसाबाट पलायन हुने अवस्था सिर्जना भएको केन्द्रको अनुमान छ । जसले गर्दा पशुपालनबाट खेतीभन्दा बढी नाफा लिने गरी घाँस खेतीमार्फत पशुपालन बढाउन बाँझो जमिनमा घाँस खेती कार्यक्रम ल्याइएको जनाएको छ । घाँसको बिरुवा केन्द्रले आफैँ उत्पादन गरिरहेको र केन्द्रबाट उत्पादित बिरुवा अपुग भएमा निजी फर्मबाट खरिद गरी व्यावसायिक किसानलाई उपलब्ध गराउने डा चौधरीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिनमध्ये हाल ५१ हजार पाँच सय १० हेक्टर जमिनमा खेती गरिदै आएको छ । जिल्लाको १३ हजार पाँच सय ६३ हेक्टर खेतीयोग्य जमिन बाँझो छ ।