तस्वीरमा फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेका अधिकृतहरु।


काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र नेपाल वायुसेवा निगमका तीन अधिकृतलाईसमेत पक्राउ गरेको छ । अध्यागमन कार्यालयका अधिकृत खड्काले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको बारेमा जानकारी दिएको छ ।

किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

डिएसपी गोविन्द पन्थीको नेतृत्वमा गठित अनुसन्धान टोलीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । हालसम्म ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।