फाइल तस्वीर
बारा — बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्य बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र वसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

तीन प्रकारका बाली लगाउन सकिने भएकाले किसानको यसतर्फ आकर्षण बढेको उहाँको भनाइ थियो । मकै बालीमा हिउँदे र वसन्ते सिञ्चित क्षेत्रमा र वर्षे कम सिञ्चित क्षेत्रमा खेती हुने केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले बताउनुभयो ।

मकै व्यापारीले किसानको घर, खेतबाटै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको किसान बताउँछन् । गत वर्ष विभिन्न जातका हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दा ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका कृषिप्रसार अधिकृत रामजीवन ठाकुरले जानकारी दिनुभयो ।