काठमाडौँ — नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोे छ ।

त्यसैगरी आज बुधबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ । आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो । यो काठमाडौँ उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो। आज त्यसभन्दा पनि तल झरेको हो । मौसमविद्का अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ ।

आज तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । जसको कारण तराई मधेशका जिल्लामा चिसो बढेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । तराईका भू–भागमा भने दिउँसो मौसम सामान्यतया सफा रहने भएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक—दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ । वर्षा, हिमपातका कारण चिसो बढ्ने हुँदा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।