तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।
लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली काङ्ग्रेस प्रदेशसभा (क) र काङ्ग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “काङ्ग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।” पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र काङ्ग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उहाँको भनाइ थियो ।

“पार्टीभित्रको खाडल चिर्दै एकता र आत्मीयता बढाउँदै काङ्ग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सङ्घीयता काङ्ग्रेसको एजेण्डा नभए पनि काङ्ग्रेस, एमाले, माओवादी र तत्कालीन मधेसवादी दलबीचको सहमतिअनुसार काङ्ग्रेसले सङ्घीयता मानेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र बस्तीको समस्या रहेको बताउनुभयो । घर भएको ठाउँमा सडक लैजाने कि सडक भएको ठाउँमा घर बनाउने भन्ने समस्या रहेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले यो समस्याको हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, डा टकराज गुरुङ, टीका बस्याल, पार्वती तामाङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायत सहभागी हुनुहुन्थ्यो ।