फाइल तस्वीर
वीरगञ्ज — वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीचको विवादले कार्यालय परिसरमै कुटाकुट भएको छ । महानगरपालिकाको पुरानो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर सिंह र उपमेयर आलमबीच विवाद उत्पन्न भएपछि आज दिउँसो यस्तो घटना घटेको हो ।
महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराईको कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने तयारी गरिएको थियो । तर उपमेयर आलमले उक्त स्थानमा आफ्नो आफ्नो कार्यालय हुनपर्ने भनेपछि विवाद बढ्दै जाँदा झडपको स्थिति पैदाभएको थियो । विवाद चर्किदै जाँदा मेयर सिंह र उपमेयर आलमका पक्षधरहरुबीच झडप हुन थालेपछि त्यहाँ प्रहरी परिचालन गर्नुपरेको थियो ।
स्थानीय निर्वाचनमा काङ्ग्रेस र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन गरेर मेयरमा जसपा सिंह र उपमेयरमा काङ्ग्रेसका आलम निर्वाचित हुनुभएको थियो । पछिल्लो समय उहाँहरुबीचको सम्बन्धमा दरार उत्पन्न हुँदै गएको र अहिले कार्यालय सार्ने निहुमा विवाद थप बल्झिन पुगेको दुवै पक्षबीच झडपको अवस्था आएको बताइन्छ ।