फाइल तस्वीर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।


विराटनगर — कोशी प्रदेशका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि आक्रमण गरेका छन् । झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४–००१ झ ०००३ नम्बरको गाडीमा पहिचानवादीहरुले ढुङ्गा हानि आक्रमण गरेका हुन् ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँदै ढुङ्गा हानेका थिए । उनीहरुले मुख्यमन्त्री कार्कीविरुद्ध कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए । ढुङ्गा प्रहारबाट मुख्यमन्त्री कार्कीको गाडीको सीसा फुटेको छ ।

गत वर्ष फागुन १७ गते प्रदेशसभाको बैठकबाट तात्कालीन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरिएको थियो । कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानवादीहरुले उक्त नाम संशोधन गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।