काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावको कारण आज देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीकै अवस्था रहने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मंगलबार राति पनि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम प्रकारको हिमपातकोसमेत सम्भावना छ ।

भोलि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

यतिबेला देशभरिको तापक्रम घट्ने क्रममा रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।