फाइल तस्वीर
काठमाडौं — दुबईमा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरण अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ । सामना गर्दैछ । यस अघिभएको समूह चरणका दुवै खेलमा पराजय भोगेको नेपालले आज मङ्गलबार भारतको सामना गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल आज बिहान ११ः१५ बजे दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुनेछ । आजको खेल जित्न नेपाललाई त्यति सहज भने छैन । यद्यपि, नेपालले सेमिफाइनको यात्रा तय गर्न सक्ने सम्भावना अङ्कगणितीय रुपमा मात्र जिवित छ ।

समूह चरणमा दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा हार भोगेको भारतले आजको खेलमा नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्न मैदानमा उत्रने छ । यसैगरी नेपाल पनि भारतलाई पाखा लगाउने दाउका साथ मैदानमा उत्रँदैछ । भारतले यस अघि अफगानिस्तानलाई ७ विकेटले हराएको थियो भने पाकिस्तनसँग ८ विकेटले पराजित हुनपुगेको थियो ।

यता नेपालले पनि पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले हार व्यहोरेको थियो । नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सकेमात्रै सेमिफाइनलको यात्रा तय गर्न सक्दछ । यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ ।

समूह ‘ए’ मा रहेका पाकिस्तान र अफगानिस्तान पनि आजै आमनेसामने हुनेछन् । यी दुवै टिमको आज अन्तिम खेल हुनेछ । पाकिस्तान र अफगानिस्तानबीच हुने खेल पनि अहिले बिहान ११ः१५ बजे नै सुरु हुनेछ ।

समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अङ्कसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित र एक खेलमा हार भोगेका भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ । तालिकाको अन्तिममा रहेको नेपालले अहिलेसम्म कुनै अङ्क जोड्न सकेको छैन ।