फाइल तस्वीर


जाजरकोट — एक महिना अघि गएको भूकम्पका कारण जाजरकोटमा मात्रै नौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको खाद्यान्न भूकम्पले घर भत्किएर पुरिंदा नष्ट भएको हो ।

कृषि विकास कार्यालय जाजरकोटले जनाए अनुसार नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न नष्ट भएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

जाजरकोट भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ । खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ । जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो । जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ ।