फाइल तस्वीर


काठमाडौँ – एसिया कप क्रिकेट अन्तर्गत एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई उक्त लक्ष्य दिएको हो ।

आज भएको आफ्नो पहिलो खेलमा नेपालले ४७ दशमलब २ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । अहिले पाकिस्तानले ब्याटिङ सुरुगरेको छ ।

आजको खेलमा उत्तम रङ्गु थापामगरले नेपालका लागि सर्वाधिक ५१ रन बनाउन सफल भए भने दिपेश कँडेलले ३१ रनको योगदान गर्नसके । ओपनर अर्जुन कुमालले २१ रन बनाएका थिए भने खेलमा नेपालले अतिरिक्त रूपमा २१ रन पाएको थियो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानहरु खेलमा खासै जम्म नसक्दा पाकिस्तानले एक सय ५३ रनको लक्ष्य पाएको हो ।

नेपालविरुद्ध मैदानमा उत्रिएको पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन सबैभन्दा प्रभावकारी सावित भए । मोहम्मद एक्लैले ६ विकेट लिएका थिए । जबकी उनले ९ दशमलब २ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । अमिर हसनले पनि दुई विकेट लिंदा उबैद शाह र अली असफान्दले पनि एक–एक विकेटको साझेदारी गरे । नेपालले अन्तिम विकेटका रूपमा आकाश चन्दलाई पाँच रनमा गुमाउन पुगेको थियो । चन्दलाई पनि जिसनले नै बोल्ड गरेका थिए । सुवास भण्डारी आठ रनमा अविजित रहे ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रूपमा पहिलो विकेट गुमाएको थियो । तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट हुँदा उनलाई पाकिस्तानी बलर अमिर हसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । तिलक आउट हुँदा नेपालले २ दशमलब २ ओभरमा १० रन बनाएका थिए ।

नेपाली टिमले दोस्रो विकेटका रूपमा आकाश त्रिपाठीलाई गुमाउन पुगेको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै गर्दा उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । त्रिपाठी ७ दशमलब ४ ओभरमा आउट हुँदा नेपालले २५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देब खनाललाई गुमाएको थियो । १३ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई पाकिस्तानी बलर मोहम्मद जिसनले अली असफान्दद्वारा क्याच गराएका थिए । ११.४ ओभरमा उनी आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

चौथो विकेटका रूपमा नेपालले ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान अर्जुन ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । अर्जुनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो दोस्रो विकेट थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । राष्ट्रिय टोलीका प्रभावशाली सदस्य समेत रहेका गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अली असफान्दले बोल्ड गरेका थिए । १७औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर ४६ रन बनाएको थियो ।

छैटौँ विकेटका रूपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी ३१ रन बनाउँदै आउट भएका थिए । उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको थियो ।

दीपेश र उत्तम रंगु थापामगरले नेपालका लागि ६८ रनको साझेदारी गरेका थिए । दिपेशलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो तेस्रो विकेट थियो । यसका अतिरिक्त पाकिस्तानी विकेटकिपरले लिएको यो तेस्रो क्याच पनि थियो ।

नेपालले सातौँ विकेटका रूपमा विशालबिक्रम केसीलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर मोहम्मद जिसनको बलमा सामल हुसैनद्वारा क्याच भएका थिए । जिसनले लिएको यो चौथो विकेट थियो । चार विकेट लिँदासम्म उनले सात ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । विशाल आउट हुँदा नेपालले ३५.४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

आठौँ विकेटका रूपमा विपिन रावल आउट भएका थिए । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।

विपिनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका थिए । जिसनले लिएको यो पाँचौँ विकेट थियो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निर्णयमा केही समय लगाएको थियो । पाँचौँ विकेट लिँदा जिसनले आठ ओभरमा केवल १५ रन खर्चिएका थिए ।

नवौँ विकेटका रूपमा नेपालले उत्तम रङ्गु थापामगरलाई गुमाएको थियो । उनी ५१ रन बनाउँदै आउट भएका थिए । उनले ७६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच लिएका थिए । अमिर हसनले लिएको यो दोस्रो विकेट थियो । उत्तम आउट हुँदा नेपालले ३९ दशमलब ५ ओभरमा एक सय ३५ रन बनाएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा बलिया टीम भारत र अफगानिस्तान रहेका छन् । नेपाली टोलीले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी २६ गते मङ्गलबार खेल्ने तालिका छ ।