फाइल तस्वीर


काठमाडौँ —सङ्घीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा देशको मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण बारेमा छलफल भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त बैठकमा पेश गर्नुभएको मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरणमाथि छलफल गरिएको हो ।

गभर्नर अधिकारीले बैठकलाई जानकारी दिदैं अनुसार चालु आर्थिक वर्षमा ४/५ प्रतिशतमात्र आर्थिक वृद्धि आङ्कलन गरिएको बताएको छ । सरकारले भने आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण ४/५ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने राष्ट्र बैंकको आँकलन छ । गत वर्ष नेपालको आर्थिक वृद्धिको दर ८ प्रतिशतकोे लक्ष्य राखेकोमा जम्मा २ दशमलव १६ प्रतिशतमा रहेको थियो ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुन नसक्ने बताउनुभएको छ । अर्थतन्त्र सुधारका लागि मौलिक ढङ्गले सोच्नुपर्ने भन्नुहुँदै प्रधानमन्त्रीले ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ’ भन्नुभएको छ ।

आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको बताउँदै प्रधानमन्त्रीले ‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा पटक पटक आफू अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको बेला प्रधानमन्त्री भएको, तर अहिले देशको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको दावी समेत गर्नुभएको छ ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमा दिनुभएको अभिव्यक्ति र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ समितिको बैठकमा राख्नु भएको विवरणमा तालमेल देखिंदैन । राष्ट्र बैंकले प्रक्षेपण गरेको चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर पनि गत वर्षकै हाराहारीमा हुने सङ्केत देखिएको छ ।