फाइल तस्वीर
बाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँका जनताको बिजुली बाल्ने धोको पुरा भएको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा बिजुली सेवा उपलब्ध गरेको हो ।

कादुरी संस्थाको आर्थिक सहयोग र गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । लघु जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीले गौमुल गाउँपालिकाको वडा नं‍. १ र २ का बासिन्दाले बिजुली बत्ति बाल्न पाएका छन् । आफ्नो गाउँमा बिजुली आएको भन्दै स्थानीय बासिन्दाहरु निकै सुखी भएका छन् ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाका अनुसार गौमुल गाउँपालिकाको सहजीकरण तथा कादुरी संस्थाको ८ करोड ८६ लाख र जनश्रमदान ३१ लाख ५० हजारमा विद्युत् निर्माण गरिको हो । अँध्यारोमा रहेका नागरिकलाई उज्यालोको पहुँचमा पु¥याउने उद्देश्यसहित आयोजना निर्माण भएको पालिकाका अध्यक्ष हरि रोकाया बताउनुहुन्छ ।

अन्द्राडी लद्यु जलविद्युतबाट वडा नम्बर १ को माडी, भित्री खोला, अम्लीस, अन्द्राडी र वडा नम्बर २ को पौदाली, मल्लोगुगून, अजेटोट्की गाउँ गरी करिब ४ सय ८८ घरपरिवार लाभान्वित भएका छन् । सोलार, झरो, टुक्की प्रयोग हुँदै आएको गाउँमा विद्युत् निर्माण भएपछि यतिबेला गाउँ बस्ती झिलिमिली भएको पालिकाका अध्यक्ष हरि रोकाया बताउनुहुन्छ ।