काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभावका कारण मौसममा बदली भएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । आज कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभरिको तापक्रममा गिरावट आउने क्रम बढ्दै गएकाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखिसामान्य बदलीको अवस्था रहनेछ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।