काठमाडौँ — मङ्सिरको महिना सुरु भएसँगै आकाशिएको सुनको मूल्य आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको छापावाल सुन आज मङ्गलबार भने घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन पनि १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन अघिल्लो दिन १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।