फाइल तस्वीर
कञ्चनपुर — विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बीउ वितरण भइरहेको छ । “च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ”, प्राविधिक सिंहले भन्नुभयो, “कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं ४ र १० मा च्याउखेतीका लागि मिनी किट वितरण गरिएको छ ।” यसअघि गहुँ र तरकारीको मिनी किट बीउ वितरण गरिसकिएको छ भने धान र मकैको मिनी किट वितरण गर्ने कार्य केही दिनपछि हुने छ ।