फाइल तस्वीर
तमिलनाडु — भारतको दक्षिणी तटीय क्षेत्रमा आएको तीव्र आँधी र अत्यधिक वर्षाका कारण धेरै मानिसको मृत्यु भएको अनुमान गरिएको छ । आँधी र भारी वर्षाका कारण तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ । उक्त आँधीका कारण हालसम्म ६ जनाको मृत्यु भएको चेन्नई प्रहरीले जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ ।

आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त चेन्नइको विमानस्थल हिजोदेखि अवरुद्ध भएको छ । सडकमा अत्यधिक पानीले गर्दा कारहरु तैरिएको थियो ।मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघण्टा रहने भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यहाँको जनजीवन प्रभावित भएको छ । आँधीले बढी असर पु¥याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजैदेखि बन्द गरिएका छन् ।