फाइल तस्वीर
बेइजिङ — बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले चीनसँग उहाँको देशको ‘विश्वसनीय’ मित्रताको प्रशंसा गर्नुभएको छ । यो वर्ष आफ्नो बेइजिङको दोस्रो भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको कुराकानीमा उहाँले सो टिप्पणी गर्नुभएको हो ।

रुसको कट्टर सहयोगी लुकासेन्को कम्तीमा दुई दिनसम्मको चीनको भ्रमणका क्रममा आइतबार चीन पुग्नुभएको हो । उहाँ र चिनियाँ राष्ट्रपति सीले ‘व्यापार, अर्थतन्त्र, लगानी र अन्तर्राष्ट्रिय लगानी’ लगायतका विषयमा छलफल गर्नु भएको उहाँको कार्यालयले जनाएको छ ।

लुकासेन्को पछिल्लो टक फेब्रुअरीमा चीन आउनु भएको थियो । उक्त भ्रमणले युक्रेनमाथि मस्कोको आक्रमणलाई ध्यानमा राखेको थियो । बेलारुसी राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार राष्ट्रपति लुकासेन्कोले सोमबार सीसँग भन्नुभयो, “बेलारुस चीनका लागि एउटा विश्वसनीय साझेदार हो, थियो र हुनेछ ।”

“हामीले धेरै पहिला नै निर्णय गरेका थियौँ कि हामी सहयोग गर्नेछौँ र चीनसँग मित्रता गाँस्नेछौँ”, उहाँले भन्नुभयो, “यो मित्रता ३० वर्षभन्दा पनि पुरानो हो र यो मार्गबाट कहिले पनि पछि हटेको छैन ।”

अमेरिका र अन्य पश्चिमी मुलुकहरूको दबाब भए पनि बेइजिङले सार्वजनिक रूपमा युक्रेनमाथि रुसी हमलाको निन्दा गरेको छैन । बेलारुस राजनीतिक र वित्तीय सहयोगका लागि रुसमाथि अत्यन्त धेरै निर्भर छ र सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध मस्कोको आक्रमणका लागि आक्रमणस्थलका रूपमा बेलारुसलाई प्रयोग गरिएको थियो ।