सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताउनुभएको छ । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदका माध्यमबाट लागुऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताउनुभयो ।

  जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । 

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।