फाइल तस्वीर
विराटनगर — कोशी प्रदेशका सांसदहरुले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ । यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेका छ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई जना गरी आठ जना सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव पेश गर्न लागि आज बुधबार बिहान ११ बजेसम्मको लागि समय तोकिएको थियो । जस अनुसार आठ जना सांसदहरुले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिङ्थेप, तिलचन पाठक, निरन राई र कमला दर्नाल हुनुहुन्छ भने राप्रपाबाट भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

राजनीतिक खिचातानी र सरकार बन्ने र ढल्ने खेलले कोशी प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ को बजेट भरखर पास गर्ने तयारी हुँदैछ । चालु आर्थिक वर्षको चार महिना वितिसक्दा पनि उक्त प्रदेशमा बजेट पास भएको छैन । यद्यपि, आज बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ ।

बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । सांसदहरुले यस किसिमको प्रस्ताव पेश गरेता पनि सदनको बहुमतले अस्वीकार गरिदिन्छ । सांसदहरुले पेश गरेको खर्च कटौती र संशोधन प्रस्ताव सदनबाट पास भएमा सरकारको बजेट र कार्यक्रम फेल भएको मानिन्छ ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रतिस्थापन विधेयक ल्याउनुभएको थियो । अर्थमन्त्रीको जिम्मेवारी लिनुभएको मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट छ । आजको सभाले बजेट पास गर्नेछ ।