फाइल तस्वीर
्काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीले अहिलेसम्म ३० हजार क्विन्टल धान गरिद गरेको हो ।

कम्पनीका चार वटा शाखा कार्यालयहरुले पश्चिम तराईका विभिन्न क्षेत्रबाट धान खरिद गरेको जनाएको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट धान खरिद गरेको छ । कम्पनीले जनाएअनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद गर्ने प्रक्रिया सुरु गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले विभिन्न ११ वटा जिल्लास्थित शाखा कार्यालयहरुबाट धान खरिद गर्ने बताउनुभयो । धान उत्पादन हुने विशेष गरी तराईका जिल्लाहरुमध्ये झापाको बिर्तामोड, मोरङको विराटनगर, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र पहाडी जिल्ला जुम्लाबाट कम्पनीले धान खरिद गर्दैछ ।

नेपाल सरकारले धानको समर्थन मूल्य तोकेअनुसार धान खरिद गरिएको कम्पनीले जनाएको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्वीटल तीन हजार एक सय ९८ रुपैयाँ, मध्यम खाले धानको प्रतिक्वीटल तीन हजार तीन सय ६२ रुपैयाँ तोकेको छ । सरकारले धानको समर्थन मूल्य तोकेपछि किसानहरुलाई धान विक्री गर्न सहज भएको छ ।