काठमाडौँ — सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।
ललितपुरको नख्खु कारागारबाट सो शिविर सञ्चालन गरिने छ मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक महिनाभित्र शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ । केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान साधना गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने धर्मसेवक सुशील शाहले जानकारी दिनुभयो ।
दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले २२ वर्षपछि नख्खु कारागार ध्यान शिविर सञ्चालन गर्न लागिएको हो । यसअघि २०५५ सालमा २० जना र २०५७ सालमा २३ जना नख्खु कारागारका कैदीबन्दीलाई ध्यान गराइएको थियो । त्यस्तै, यसअघि भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।
विपश्यना ध्यान आजभन्दा २५ सयवर्ष अघि गौतम बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हँुदै आएको छ । यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ । बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग नेपालमा विपश्यना केन्द्रले हरेक महिना १ र १४ तारेखमा नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । विसं २०३७ देखि नेपालमा विपश्यना ध्यान शिविरहरू सञ्चालन हँुदै आएका छन् । देशभर विभिन्न ३० वटाभन्दा बढी विपश्यना ध्यान केन्द्र छन् ।
नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए । तर, त्यसको निरन्तरता हुन सकेन । गत वर्ष भीमफेदी कारागारमा यो शिविर सञ्चालन गरिएको थियो ।
केन्द्रका अनुसार यो ध्यान विधि विश्वका एक दर्जन बढी देशका जेलमा सञ्चालन हुने गर्छ । भारत, अमेरिका, आयरल्यान्ड, क्यानडा, इजरायल, मंगोलिया, न्युजिल्यान्ड, थाइल्यान्ड, ताइवान, श्रीलंका, स्पेन, मेक्सिको तथा ब्रिटेनले आफ्ना कारागारका कैदीलाई विपश्यना ध्यान गराउँछन् । भारतमा भने सन् १९९५ मै कैदीबन्दीका लागि विपश्यना शिविर सञ्चालनको अनुमति दिइएको थियो ।
यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । शरीरभित्रकै संवेदना र चित्तका गतिलाई समताभावमा रहेर नियाल्ने यो विधि नेपालमा विश्वविख्यात ध्यान गुरु स्वर्गीय सत्यनारायण गोयन्काले भित्र्याउनुभएको हो । जुन जस्तो छ त्यसलाई साक्षी भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । ध्यान शिविर चलिरहँदा कुनै सम्प्रदाय विशेषको वकालत गरिँदैन र ध्यान सिकाउने आचार्यहरूले कुनै कुरामा पनि आशक्ति नजगाउन निर्देशन दिइरहेका हुन्छन् । यो ध्यान १० दिनको आवासीय शिविरमा सहभागी भएर योग्यता प्राप्त आचार्यको सानिध्यमा सिक्न सकिन्छ ।
विपश्यना ध्यान गर्न चाहने साधकलाई झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता नियमभित्र रहेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रित गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । बाँकी साढे छ दिन विपश्यना अभ्यास गर्दै अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउन लगाइन्छ । यस क्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा मानसिक विकास छेदन गर्न सक्ने साधकहरूको भनाइ रहेको छ ।
दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरूपमा मौन बस्नुपर्ने नियम छ र दशौं दिनमात्र साधकलाई बोल्न अनुमति दिइन्छ । हिन्दू, बौद्ध, मुस्लिम, जैन, शिख, इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिहरूले यस शिविरमा भाग लिने गरेका छन् । शिविर अवधिभर लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न हँुदैन । सहसाधकसँग कुराकानी गर्न पाइँदैन । आचार्य वा सेवकसँग साधनासम्बन्धी वा भौतिक समस्याबारे कुराकानी गर्न भने बन्देज हँुदैन । (आजको नेपाल समाचारपत्र दैनिकबाट)