काठमाडौँ — हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू साथै देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । तसर्थ, वर्षा, हिमपात र देशभरिको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।