फाइल तस्वीर
काठमाडौँ — सरकारले पाँच वर्ष अघि स्थापना गरेको सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । उक्त कोष स्थापनाको छैटौँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो ।

उक्त कोषका अनुसार हालसम्म नौ लाख २८ हजार चार सय ५३ जनाले योगदान गरिसकेका छन् भने अहिलेसम्म १८ हजार चार सय ३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत छ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको जनाएको छ ।

गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था गरेसँगै वैदेशिक रोजगारीमा गएका चार लाख ६६ हजार छ सय २२ जना श्रमिक कोषमा आबद्ध भएका छन् ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून रहेको छ । यद्यपि, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको निर्देशक अधिकारीले बताउनुभयो ।

कोषको कार्यविधिअनुसार उक्त सुविधा उपभोग गर्न कम्तिमा पनि नौ महिना कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ । १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ । एकदेखि तीन महिना कोषमा योगदान गरेका कुनै पनि व्यक्तिको निधन भएमा त्यस्ता व्यक्तिका परिवारले यो सुविधा उपभोग गर्न पाउने छैनन् ।

कोषले असोज १७ गतेदेखि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गतका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आबद्धताका लागि पत्र पठाएको थियो । जसअनुसार हालसम्म ६ वटा स्थानीय तहले कोषमा आबद्धताका लागि सहमति जनाई पत्राचार समेत गरिसकेका छन् भने दुई स्थानीय तह आबद्धताका लागि प्रक्रियामा रहेको कोषले जनाएको छ ।

कोषले आगामी दिनमा आवश्यकता अनुसार शाखा विस्तार गर्ने योजना बनाएको छ । पूर्णरूपमा अनलाइन प्रणालीमा सञ्चालित यस कोषले प्रदान गर्ने सेवा सुविधालाई थप व्यवस्थित र पारदर्शी बनाउनेको भनाइ छ ।