साङ्केतिक तस्वीर

उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया बालिका संज्ञा चौधरी र ६ वर्षीय बालक विकास चौधरीको मृत्यु भएको हो ।

शनिबार त्रियुगा नगरपालिकास्थित अन्नपूर्ण सेकेण्डरी बोर्डिंग स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस त्रियुगा–७ स्थित देउरीमा दुर्घटना हुन पुगेको थियो । डिएसपी चौधरीका अनुसार ४० जना विद्यार्थी लिएर वनभोजका लागि हिँडेको उक्त बस ओरालो मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो । घाइतेमध्ये १२ जना विद्याथीलाई उपचारका लागि विराटनगर पठाएको छ ।

अन्य विद्यार्थीहरुको उपचार भने स्थानीय स्वास्थ्यचौकीमा भइरहेको छ । दुर्घटनबारे प्रहरीले अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।