तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
धुलिखेल — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव कार्यान्वयन गर्न मुलुकका सबै प्रमुख राजनीतिक दलहरुको पहल, सहकार्य र समान सोचको आवश्यकता रहेको बताउनुभएको छ । नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा उभिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रमा राज्यले गर्ने लगानी पर्याप्त नभएको उल्लेख गर्नुभयो । गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –‘मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेका छन् । नेपालमा विश्वविद्यालयहरू खोल्न जत्रो होड छ, त्योभन्दा ठुलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याउँदै छ । यस परिस्थितिमा खासगरी पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयहरूले यो चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्दछ ।’