फाइल तस्वीर: बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।


ढाका — बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने भएको छ ।

एएनआईसँग कुरा गर्दै क्यानाडामा बङ्गलादेशका उच्चायुक्त खलिलुर रहमानले भन्नुभयो, “हामी चुप लागेर बसेका छैनौँ, सिबिसी वृत्तचित्रमा नयाँ प्रमाणहरू आएपछि हामीले उनको चाँडै निर्वासनका लागि क्यानाडा सरकारसँग नयाँ अपिल गर्न गइरहेका छौँ ।”

रहमानका अनुसार नुर चौधरी करिब २८ वर्षअघि सन् १९९६ मा क्यानाडा गएका थिए र जघन्य अपराधमा दोषी हत्यारा भए पनि स्वतन्त्ररूपमा बस्दै आएका छन् । बङ्गलादेश सरकारले उनलाई निर्वासन गर्नका लागि विभिन्न उपाय खोजिरहेको छ ।

“हामीले सबै प्रकारले प्रयास गरिरहेका छौँ र फैसलाको सामना गर्न उनलाई बङ्गलादेशमा निर्वासनमा पठाउन क्यानाडा सरकारसँग अनुरोध गर्दैछौँ, यो न्यायिक प्रक्रिया अत्यन्त पारदर्शी र भयमुक्त रहेको छ, एमनेस्टी इन्टरनेसनलले पनि अभियुक्तहरूलाई निर्दोष बनाउने अवसरका लागि सबै सुविधा दिइएको प्रमाणित गरेको छ”, उहाँले भन्नुभयो ।

रहमानले मानवअधिकारको नाममा ‘दोहोरो मापदण्ड’ का लागि क्यानाडा र अन्य विकसित मुलुकहरूमाथि प्रश्न गर्नुभएको छ ।

“हाम्रा मित्रहरू (क्यानाडा) वास्तवमा हाम्रा चिन्ताहरूको कदर गर्ने प्रयास गर्दैनन् र यो नै हाम्रो समस्या हो, क्यानाडा र अन्य केही विकसित देश सबै मानव आहारको संरक्षण र संवर्द्धनको कुरा गर्छन्”, उहाँले भन्नुभयो, “यी नुर चौधरीले मानवताविरुद्धको अपराधका साथै मानवअधिकारहरूको उल्लङ्घन गरेका छन्, अझै पनि उनीहरूले उनको संरक्षण गरिरहेका छन्, उनीहरू एउटा हत्याराको संरक्षण गरिरहेका छन् तर पीडित र पीडितका परिवारहरूसँग न्याय गरिरहेका छैनन्, यो वास्तवमा दोहोरो मापदण्ड हो ।”

उच्चायुक्त रहमानले नुर चौधरीलाई निर्वासनका लागि क्यानाडा सरकारसमक्ष नयाँ अपिल गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

“उनी त्यो घरमा बस्छन् भन्ने हामीलाई थाहा थियो तर कहिल्यै उनी क्यामेरामा देखिएनन्, त्यसैले उनी क्यामेरामा देखिनु क्रान्ति मात्र थियो, हामी निष्क्रिय बनेका छैनौँ, प्रत्येक दिन, प्रत्येक क्षण हामीले यो मामिलालाई उठाइरहेका छौँ, क्यानाडाली अधिकारीहरूले पछिल्लो २८ वर्षदेखि कसलाई आतिथ्यता गरिरहेका छन् भनेर यो सिबिसी वृत्तचित्रमार्फत उनीहरू (क्यानाडाली अधिकारी) सबैलाई थाहा छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी प्रत्येक व्यक्तिसम्म पुग्नेछौँ र बङ्गलादेशमा उनको निर्वासनका लागि क्यानाडा सरकार एउटा अर्थपूर्ण संवाद गर्न बस्नुपर्छ भनेर नयाँ अपिल गर्नेछौँ ।”

रहमानका अनुसार नुर चौधरीका साथै अन्य धेरै दोषी अपराधी पनि क्यानाडामा स्वतन्त्ररूपमा बस्दै आएका छन् । यद्यपि ढाकाले यो विशेष मामिलालाई उच्च प्राथमिकता दिनेछ ।

“सन् २०१६ जुलाई १ मा बङ्गलादेशमा सबैभन्दा ठूलो हमलाका मुख्य योजनाकार क्यानाडामा पत्ता लागेको थियो”, उहाँले भन्नुभयो, “उनी यहाँबाट बङ्गलादेश गएका थिए, हामीसँग क्यानाडामा केही सजाय पाएकाको उपस्थितिको स्पष्ट प्रमाण छ र हामीले उनीहरूलाई बङ्गलादेश निर्वासनका लागि अनुरोध पनि गरेका छौँ ।” ९राससरएएनआई०