क्यानाडा — क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने हुनुभएको छ । ट्रुडोका अधिकारीहरूले बुधबार उहाँ बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् ।

भर्चुअल बैठकमा प्रधानमन्त्री ट्रुडोको उपस्थिति भारत र क्यानाडाबीच कूटनीतिक गतिरोधबीच आएको हो । यसअघि क्यानाडाली सिनेटका सभामुख रेमोन्डे ग्याग्नेले अक्टोबर १२ मा दिल्लीमा सुरु भएको जी२० मुलुुकका सभामुखहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको थिएन । 

नोभेम्बर १२ मा प्रधानमन्त्री ट्रुडोले भारतले भन्दै आएको आतङ्कवादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नताको आफ्नो आरोपलाई पुनः पुष्टि गर्नुभएको थियो । उहाँले आफ्नो मुलुकले हत्याको तहसम्म जानका लागि पूर्व र अन्य वैश्विक साझेदारहरूसम्म सम्पर्क गरेपछि नयाँदिल्लीले आफ्ना ४० कूटनीतिज्ञलाई ‘निष्कासित’ गरेर भियना महासन्धिको उल्लङ्घन गरेको आरोप लगाउनुभएको थियो । 

“सुरुदेखि नै जब हामीले हाम्रो भूमिमा क्यानाडाली नागरिकको हत्यामा भारत सरकारका एजेन्टहरू संलग्न रहेको विश्वासनीय आरोप थाहा पायौँ, तब उनीहरूलाई यो मामिलाको तलसम्म पुग्न सँगै काम गर्न आग्रह गर्न हामी भारत पुग्यौँ । हामीले अन्तर्राष्ट्रिय कानून र लोकतन्त्रको सार्वभौमसत्ताको यो गम्भीर उल्लङ्घनमा काम गर्न अमेरिका र अरु हाम्रा मित्र तथा सहयोगीहरूसँग पनि सम्पर्क गरेका छौँ”, उहाँले भन्नुभएको थियो ।

क्यानाडाले यसलाई गम्भीरताका साथ लिइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सबै साझेदारहरूसँग काम जारी राख्नेछौँ, क्यानाडा सधैँ कानूनको शासनका लागि खडा हुने देश हो, यदि ठूला मुलुकहरूले परिणामबिना अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्न सक्छन् भने यो सम्पूर्ण विश्वका लागि खतरनाक हुन्छ ।” यद्यपि उहाँले ओटावाले सधैँ भारतसँग ‘रचनात्मक काम’ गर्न चाहेको बताउनुभयो ।

अक्टोबरमा क्यानाडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको थियो र उनीहरूको कूटनीतिक अधिकार खोस्ने भारतीय केन्द्र सरकारको निर्णयलाई ध्यानमा राखेर चण्डीगढ, मुम्बई र बेङ्गलुरु वाणिज्य दूतावासहरूमा उसको भिसा र कन्सुलर सेवा रोकेको थियो । 

यद्यपि भारतीय विदेश मन्त्रालयले नयाँदिल्ली र ओटावामा पारस्परिक कूटनीतिक उपस्थितिमा समानताको माग गर्दै भारतमा कुनै पनि अन्तर्राष्ट्रिय मापदण्ड उल्लङ्घन नगरिएको प्रतिक्रिया दिएको थियो । निज्जर हत्यामा आफ्नो दावीलाई समर्थन गर्न क्यानाडाली पक्षले प्रमाणहरू प्रदान गर्न बाँकी रहेको भन्दै नोभेम्बर १६ मा विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री ट्रुडोलाई जवाफ दिनुभएको थियो । 

यसैबीच जी२० भर्चुअल शिखर सम्मेलन आज साँझ सुरु हुँदैछ । सम्मेलनमा अफ्रिकी युनियनका अध्यक्षसहित जी२० का सबै नेता, नौ अतिथि देश र ११ अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूलाई आमन्त्रित गरिएको छ । सम्मेलनले सेप्टेम्बरमा नयाँदिल्ली जी२० शिखर सम्मेलनको समापनपछि भएका प्रमुख मुद्दा, नतिजा चयन र समीक्षा घटनाको सम्बोधन गर्नेछ ।