फाइल तस्वीर
काठमाडौँ — दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको बैठकले राष्ट्रिय भाषा साहित्यतर्फ श्रेष्ठलाई र राष्ट्रिय पत्रकारितातर्फको पुरस्कार झालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुवै पुरस्कारको राशि क्रमशः ५१ हजार रुपैयाँ र २५ हजार रुपैयाँ तथा प्रमाणपत्र रहेको छ ।

नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिइएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिनुभयो ।

उक्त पुरस्कार यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरु क्रमशः प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा विष्णुविभु घिमिरे, शङ्करप्रसाद कोइराला, प्राडा चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कारबाट पत्रकारहरू क्रमशः हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू १५ लाखको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ । उक्त पुरस्कार विसं २०७३ देखि नियमित प्रदान गरिँदै आइएको प्रतिष्ठानले जनाएको छ ।