तस्वीरमा प्रधानमन्त्री प्रचण्ड र निजी क्षेत्रका प्रतिनिधिहरु ।


काठमाडौं — प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई के कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सिहंदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आह्वान गर्नुभएको निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा अर्थतन्त्रलाई के कसरी चलायमान बनाउन सकिन्छ भन्ने छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक भएता पनि देशको अर्थतन्त्र अझै दवावमुक्त नभएको बताउनुभएको छ । अर्थतन्त्रको सङ्कटबारे निजी क्षेत्रसँग भएको छलफलका क्रममा प्रधानमन्त्रीले सरकारले अर्थतन्त्र दवावमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने सङ्कट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै उल्लेख गर्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको बताउनु हुँदै यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उल्लेख गर्नुभयो । बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ । आजको बैठकले बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ’— भन्नुभयो ।

सहकारी, लघुवित्त क्षेत्रमा देखिएको सङ्कट समाधानको उपाय खोज्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘ऋृण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’

बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने बताउनुभयो । बैठक सिंहदरबारमा चलिरहेको छ ।