फाइल तस्वीर ।

काठमाडौँ — विश्वकप फुटबलको छनोट समूह अन्तर्गत नेपालले भोलि मङ्गलबार यमनको सामना गर्ने भएको छ । नेपालले भोलि आफ्नो दोस्रो खेल यमनसँग काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल्न लागेको हो ।

भोलि हुने यमनविरुद्धको खेल नेपालले घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्न चाहन्छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताउनुभएको छ ।

पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलको अन्तरले पराजित भएको थियो । समूह चरणमा नेपालले अहिलेसम्म कुनै अङ्क जोड्न सकेको छैन । भोलिको खेलमा यमनलाई हराएर अङ्क बटुल्दै नेपाल जितको खाता खोल्न चाहन्छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भन्नुभयो — ‘हामी यो खेल जित्न चाहन्छौं, समर्थकलाई आशा दिलाउनका लागि पनि जित्दै अङ्क जोड्न चाहन्छौं ।’

नेपालले आगामी चरणका लागि पनि यमनविरुद्धको खेल जित्नुपर्ने दवावका साथ मैदानमा उत्रने छ । भोलिको खेल नेपालका लागि महत्वपूर्ण छ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण लिम्बुले पनि भोलि हुने यमनविरुद्धको खेल जित्नै पर्ने दवावमा रहेका बताउनुभएको छ । तर कप्तान लिम्बुले चोटका कारण भोलिको खेल गुमाउनुहुनेछ ।

यसैगरी अनन्त तामाङ पनि चोटका कारण यमनविरुद्ध मैदानमा उत्रिने सम्भावना न्यून छ । अनन्त यूएईसँगको खेलमा पनि मैदान बाहिरै रहनुपरेको थियो । नेपाली राष्ट्रिय टिमका यी दुवै महत्वपूर्ण खेलाडीको अनुपस्थितिले खेलको नतिजामा केही प्रभाव पर्ने देखिन्छ । राष्ट्रिय टिमका कतिपय राम्रा खेलाडीहरु विदेश पलायनले पनि टिमलाई केही असजिलो भैरहेको फुटबल विश्लेषकहरुको भनाइ छ ।