फाइल तस्वीर
इस्लामावाद — पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताउनुभएको छ । बुधबार एक समारोहमा उहाँले भन्नुभयो, “एउटा मुलुकको हैसियतमा हामीले आर्थिक र सामाजिक क्षेत्रमा आफ्ना प्राथमिकताहरू निर्धारण गर्नुपर्छ र आफ्नो देशलाई सुदृढ बनाउनु पर्छ ।”

उहाँले सरकारले विदेशी लगानी आकर्षित गर्न र त्यसमा तीव्रता ल्याउन तथा मुलुकमा सहज व्यापारलाई अगाडि बढाएर अर्थतन्त्रलाई स्थिर गर्नका लागि विभिन्न कदम चालेको र त्यसमा केही पहल सुरु भएको बताउनुभयो । राष्ट्रपति अल्वीले अवैध तस्करीविरुद्धको पछिल्लो कारवाहीले स्थानीय उद्योगमाथि सकारात्मक प्रभाव परेको उल्लेख गर्दै करको दायरालाई अझ बढाउने र करको दायराभन्दा बाहिर रहेका व्यक्ति तथा व्यवसायलाई दायराभित्र ल्याउने प्रयास भइरहेको बताउनुभयो ।

आर्थिक विकासलाई अगाडि बढाउने प्रयासमा सरकारलाई सहयोग गर्न उद्योगपति र व्यापारीसहित पाकिस्तानको निजी क्षेत्रको भूमिका रहेको उहाँको भनाइ थियो । स्कुल जाने बालबालिकाको सङ्ख्या उल्लेख गर्दै उहाँले पाकिस्तानको सुखद भविष्यका लागि पहुँच वृद्धि गर्दै बालबालिकालाई उचित शिक्षा र सीप प्रदान गर्ने नीतिको आवश्यकतामाथि जोड दिनुभयो ।