एजेन्सी — सेनाले चीनसँगको सीमामा जातीय सशस्त्र समूहरूहरूको संयुक्त हमलालाई दबाउन नसके म्यान्मा टुक्रिने जोखिममा रहेको जुन्ता समर्थित राष्ट्रपतिले बिहीबार बताउनुभएको सरकारी मिडियाले बताएको छ । चीनको सीमा नजिकै शान राज्यमा करिब दुई सातादेखि द्वन्द्व सुरु भएको छ । विश्लेषकहरूका अनुसार सन् २०२१ मा सत्ता कब्जा गरेयता जुन्ताका लागि यो द्वन्द्व सबैभन्दा ठूलो सैन्य चुनौती हो ।

“यदि सरकारले सीमा क्षेत्रमा हुने घटनाहरूमाथि प्रभावकारीरूपमा नियन्त्रण गर्न सकेन भने मुलुक कयौँ हिस्सामा विभाजित हुनेछ”, राष्ट्रपति मिन्ट स्वेको बुधबारको भनाइ उद्धृत गर्दै ग्लोबल न्यु लाइट अफ म्यान्माले बताएको छ । 

ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए), आराकान आर्मी (एए) र म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिए) ले आफूहरूले म्यान्माको ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने सैन्य चौकीहरू कब्जा गरेको र चीनजाने महत्त्वपूर्ण मार्गमा अवरोध गरेको बताएका छन् । 

जुन्ताले एउटा प्रमुख व्यापार केन्द्रमाथिको नियन्त्रण गुमाएको स्वीकार गरेको छ । यद्यपि उसले कयौँ दिनको द्वन्द्वको प्रगतिबारे कुनै टिप्पणी गरेको छैन । 

जुन्ता प्रमुख मिन आङ ह्लाइङ र अन्य शीर्ष अधिकारी सहभागी राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति मिन्ट स्वेले त्यस्तो टिप्पणी गर्नुभएको हो । उहाँ आङ सान सु कीको प्रजातान्त्रिकरूमा निर्वाचित सरकारअन्तर्गत उपराष्ट्रपति हुनुहुन्थ्यो । उक्त सरकारलाई सेनाले सन् २०२१ मा अपदस्थ गरेको थियो । पछि जुन्ताले उहाँलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको थियो । “जुन्ता सैनिकको जीवनको बलिदानले केही हदसम्म स्थायित्व बहाल गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

म्यान्माका सीमाहरूमा एक दर्जनभन्दा बढी जातीय सशस्त्र समूहको घर छ जहाँ केहीले स्वायत्तता र आकर्षक स्रोतहरूमाथि नियन्त्रण गर्नका लागि दशकौँदेखि सेनासँग लडाइँ लडिरहेका छन् । केहीले नयाँ ‘पिपुल्स डिफेन्स फोर्सेज (पिडिएफ)’ लाई प्रशिक्षित र सुसज्जित गरेका छन् । सैनिक कूप्रति असहमति राखेकामा सेनाको रक्तपातपूर्ण कारवाहीपछि पिडिएफको जन्म भएको हो । 

पिडिएफका लडाकूहरूले हालैका दिनमा उत्तरी सागाइङ क्षेत्रका धेरै गाउँमा सरकारी भवन, सडक र पुलहरूमा आगो लगाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा जानकारी गराइएको थियो । अधिकांश जातीय–बहुसङ्ख्यक बामारको घर र सेनाका लागि परम्परागत भर्ती केन्द्र रहेको सागाइङ जुन्ता शासनको प्रतिरोधको केन्द्र बनेको छ । 

यहाँ दर्जनौँ पिडिएफ समूह सक्रिय छन् । उनीहरूले सेनामाथि गाउँ जलाएको र स्थानीय बासिन्दाहरूको नरसंहार गरेको आरोप लगाएका छन् । यसै साताको सुरुमा पिडिएफका समूहहरूले सागाइङको कावलिन सहरमाथि कब्जा गरेको दावी गरेका थिए ।