फाइल तस्वीर
सिङ्गापुर — चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उहाँको यस्तो धारणा आएको हो ।
सिङ्गापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको सकारात्मक सङ्केत दिएको बताउनुभयो । “हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिकरूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचितरूपमा व्यवस्थापन गर्न र संयुक्तरूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।
निर्यात नियन्त्रण, मानवअधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा उनीहरूको सबैभन्दा निम्तस्तरमा पुगेको छ । तर दुवै पक्ष कुराहरू मिलाउन इच्छुक रहेको देखिन्छ । वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सान फ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताउनुभएको छ । यद्यपि अमेरिका–चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्याएसँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ । उहाँले भन्नुभयो, “दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ ।”