तस्वीरमा क्रिकेट खेलाडीहरुलाई पुस्कृत गर्दै प्रधानमन्त्री प्रचण्ड ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिने बताउनु भएको छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरणको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गर्ने बताउनुभयो । प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।

खेलाडीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो — “सबैभन्दा पहिला तपाईहरुलाई बधाई छ । तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला । कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला ।”

प्रधानमन्त्री प्रचण्डले आफुले पनि क्रिकेट हेर्ने गरेको उल्लेख गर्दै क्रिकेटप्रति नेपाली जनता र युवा समुदायको आकर्षण बढेको बताउनुभयो । खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो — “क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ। खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।”

प्रधानमन्त्रीले चितवनको भरतपुर महानगरपालिका, काठमाडौंको मुलपानी र कीर्तिपुरस्थित त्रिविवि क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउन लागेको जानकारी गराउनुभयो ।

“हामीले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ” भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन् । त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ”— भन्नुभयो ।

कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेलले पुरस्कार कार्यक्रममा बोल्दै सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको उल्लेख गर्दै यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक कृतज्ञाता प्रकट गर्नुभयो ।

नेपाली राष्ट्रिय टिमका क्याप्टेन पौडेलले भन्नुभयो — ‘‘नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।”