फाइल तस्वीर
लुम्बिनी — बुद्धको जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव गरिएको छ । भिक्षुहरूको विनयअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर सोमबार सो उत्सव गरिएको हो ।

रुपन्देहीजिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलबस्तुजिल्लाको तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् । बौद्धभिक्षु उपसम्पन्न गर्नाका साथै तीन महिनासम्म ध्यान र ज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास ‘कथिन चिवरदान’लाई उत्सवका रुपमा मनाउने गर्दछ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ ।

बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियम पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्नाका साथै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक प्रवद्र्धन गर्ने पनि उल्लेख गर्नुभयो ।

कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्न स्थानीयवासीसँग लुम्बिनी भन्ने नीति लिइएकोसमेत कोषाध्यक्ष भट्टराईले बताउनुभयो । लुम्बिनीस्थित राजकीय बुद्ध विहारका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताउनुभयो । दान, शिल र भावनाको विकासका साथै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कारसमेत हुने उहाँले उल्लेख गर्नुभयो ।

‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु, भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समितिसहित सरोकारवालाको उपस्थिति थियो । उक्त अवसरमा सङ्घदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ ।

बिहान श्रीलङ्कन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।