काठमाडौँ — सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

जिम्मेवार नागरिकका रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्न‘का साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्न सक्ने भनाइ गृह मन्त्रालयको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिङ्गापुरबिच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबिच छलफल भएको थियो ।

छलफलमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबिच प्रेस काउन्सिल नेपालले आइतबार विज्ञप्ति जारी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

युट्युबलगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर सन्देश प्रवाह भएको पाइएपछि काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

को पहिला हुने होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको बीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन विज्ञप्तिमा उल्लेख छ ।(गोरखापत्र दैनिकबाट)