फाइल तस्वीर


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलले नेपाली काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठक यस्तो निर्णय गरेको हो ।

सत्ता गठबन्धका दलहरु मिलेर मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि एमाले विच्किएको थियो । एमालेकै समर्थनमा कार्की मुख्यमन्त्री बनेता पनि कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गराए पछि एमाले सरकारबाट बाहिरिंदै प्रतिपक्षमा रहने निर्णय गरेको हो ।

एमालेले यस अघि सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफुहरु ठूलो दलको हैसियतमा आजैदेखि प्रतिपक्षी बेञ्चमा बसेको बताउनुभयो । ।

ग्त असोज २५ गते नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला समूहका कोशी प्रदेशका सांसद् केदार कार्की एमालेका ३९ जना सांसद समेतको समर्थनमा मुख्यमन्त्री बनेका बन्नुभएको थियो । कातिक १ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदा राप्रपा बाहेकका सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री कार्कीलाई राप्रपाले समर्थन गरेको थिएन । उसले आफूहरुलाई प्रमुख विपक्षी दल भएको जिकिर गर्दै आएको छ । प्रदेशसभाले भने यसमा कुनै निर्णय दिएको छैन । एमाले सरकारबाट बाहिरिएसँगै आफु प्रदेशसभाको ठूलो दल भएकाले प्रमुख प्रतिपक्षी दलभएको दावी गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारी आफूहरुले मुख्यमन्त्री बनाउँदा दिएको मत मन्त्री फिर्तासँगै फिर्ता गरेको र विश्वासको मत कायम राखेको बताउँछन् । यस आधारमा आफूहरु कानुनसम्मत प्रमुख प्रतिपक्षी भएको बताउनुभएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली सङघीय संसद्को अभ्यास समेतलाई ख्याल गरिएको उल्लेख गर्दै सङ्घमा पनि विगतमा विश्वासको मत दिएर पनि प्रतिपक्षी दल भएको नजिर रहेकोले कोशी प्रदेशमा पनि त्यस्तै अवस्था आएको बताउनुहुन्छ ।

गत वर्ष पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काङ्ग्रेस पनि प्रतिपक्षी बेञ्चमा बसेको थियो । पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकबाट पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।