इस्लामावाद — पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कावरबाहीमा तीन पाकिस्तानी सैनिक तथा दुई विद्रोही लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखाले शुक्रबार राति अलग –अलग तीन स्थानहरूमा विद्रोही लडाकूसँग झडप भएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

शाखाले प्रान्तको डेरा इस्माइल खान जिल्लाको रोरी क्षेत्रमा गरिएको कारबाहीको क्रममा एक विद्रोही लडाकू मारिएको तथा अन्य दूई घाइते भएको बताएको छ ।

मारिएका विद्रोही लडाकू प्रतिवन्धित तेहरिक –ए– तालीवानसंग सम्बन्धित रहेको तथा उनीहरूले यस क्षेत्रमा उच्च ओहोदाका व्यक्तिमाथि आक्रमण गर्ने योजना बनाएको शाखाले जनाएको छ । त्यस्तै, डेरा इस्माइल खान जिल्लाको कुलाची क्षेत्रमा विस्पोटक पदार्थ विस्पोट हुँदा एक सिपाहीको घटनास्थलमा नै मृत्यु भएको छ ।
शाखाका अनुसार अर्काे कारबाहीमा प्रान्तको लक्की मारवत जिल्लामा विद्रोही लडाकूहरूसँगको गोलाबारीमा दुई सैनिक र एक विद्रोही लडाकूको मृत्यु भएको छ ।