मनाङ — हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् ।

आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार विगत छ महिनामा नौ हजार सात सय २८ जना विदेशी पर्र्यटकले मनाङ भ्रमण गरेका छन् ।

विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै सङ्ख्यामा आउने गर्दछन् । तर, पूर्वाधार विकास नहुँदा यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यवसायीले सरकारसँग माग गरिरहेका छन् । उहाँहरुले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्नुहुन्छ । शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा मनाङवासीको यही गुनासो थियो ।

गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको छ । सोही विषयमा छलफल गर्न आयोगको टोली मनाङ आएको हो ।

अन्तरक्रियामा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताउनुभयो । “मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महत्व पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यहाँ अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो ताल, एक हजार वर्ष पुराना गुम्बा छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।” सांसद गुरुङले मनाङमा पर्यटनसँगै कृषि र जलविद्युत्मा पनि सम्भावना रहेको बताउनुभयो ।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताउनुभयो । “विसं २०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पर्यटकीय क्षेत्रको पूर्वाधार बगाएको छ । यहाँ पदमार्ग पनि छैन । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँ पर्यटनसँगै कृषि, पशु र जडीबुटी पनि मुख्य सम्भावना भएको क्षेत्र रहेकाले यसतर्फ ध्यान पुग्नुपर्छ । त्यसैले प्रदेशको पञ्चवर्षीय योजनामा जडीबुटी खेती र प्रशोधन केन्द्र समेट्न जरुरी छ ।”

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको सङ्ख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्दे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले अन्तरक्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषय दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने डा देवकोटाले बताउनुभयो ।