फाइल तस्वीर


विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सत्ता गठबन्धनको आज शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

कोशी प्रदेशमा नेपाली काङ्ग्रेसका डा. शेखर कोइराला खेमामा केदार कार्की एमालेको समर्थन मुख्यमन्त्री बनेता पनि माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सामेल भएका छन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव एवम् प्रदेश सांसद् गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री बन्नुभएको छ । उहाँहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने अन्तिम टुङ्गो लागेको छैन । नवनियुक्त मन्त्रीद्वय उप्रेती र जबेजुले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

एमालेको बाहुबलबाट मुख्यमन्त्री बन्नुभएका कार्कीले सरकारमा एमालेलाई समेत सहभागी गराउने प्रयास गर्नुभएको बताइएको छ । यद्यपि, एमाले कोशी प्रदेश संसदीय दलका नेता एव पूर्वमुख्यमन्त्री हिक्मतबहादु कार्की र मुख्यमन्त्री केदार कार्कीबीच दशैंपछि सम्वाद हुन सकेको छैन ।