नयाँदिल्ली — भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्यापिङको प्रयास भएको भन्ने विपक्षी नेताहरूको आरोपको अनुसन्धान गरिरहेको सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

भारतको कम्पयुटर इमरजेन्सी रेस्पोन्स टिम (सिआइआरटी–इन) ले उजुरीहरूको अनुसन्धान सुरु गरेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ । “एप्पलले अनुसन्धानमा सहयोग गर्नेछ”, इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयका सचिव एस कृष्णनको भनाइ उद्धृत गर्दै पिटिआईले भनेको छ । 

सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार सरकार उजुरीहरूबाट ‘चिन्तित’ भएको बताउनुभयो । “भारत सरकार सबै नागरिकको गोपनीयता र सुरक्षाको रक्षा गर्ने आफ्नो भूमिकालाई अत्यन्त गम्भीरताका साथ लिन्छ र यी सूचनाहरूको जरैसम्म अनुसन्धान गर्नेछ”, सामाजिक सञ्जालमा उहाँले भन्नुभयो । 

विपक्षी काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले आफ्नो कर्मचारीका साथै शशि थरुर, महुआ मोइत्रा र प्रियङ्का चतुर्वेदीसहित विपक्षी सांसदहरूलाई पनि आइफोनबाट चेतावनी सन्देश प्राप्त भएको बताउनुभयो । “सरकारले चाहे जतिसुकै फोन ट्यापिङ गरोस्, मलाई कुनै फरक पर्दैन, उसले मेरो फोन लिन सक्छ, मलाई कुनै डर छैन”, गान्धीले मङ्गलबार भन्नुभयो ।

भारत सरकारमाथि सन् २०२१ मा राजनीतिक विरोधी, कार्यकर्ता र पत्रकारहरूमाथि निगरानी राख्नका लागि विवादास्पद पेगासस स्पाइवेयर प्रविधिको प्रयोग गरेको आरोप लगाइएको थियो । यद्यपि सरकारले उक्त आरोपलाई  अस्वीकार गरेको छ । 

एप्पलले उक्त मामिलामा कुनै टिप्पणी गरेको छैन । यद्यपि उसको वेबसाइटमा धम्कीपूर्ण सूचनाहरू ‘राज्य–प्रायोजित आक्रमणकारीहरूबाट लक्षित हुनसक्ने प्रयोगकर्ताहरूलाई सूचित गर्न र सहयोग गर्न डिजाइन गरिएको’ भनी व्याख्या गरिएको छ ।