लापाज — दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको मङ्गलबार बताएको छ ।
“बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजराइली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गर्नुभयो । “हामी गाजापट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्”, सोही पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजराइलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ । हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजराइली अधिकारीहरूले बताएका छन् ।
इजराइलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । “यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ”, इजराइली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भन्नुभयो ।
बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो ।
हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजराइलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ ।
कोलम्बिया र चिलीका नेताहरूले पनि मङ्गलबार हमासमाथि इजराइली हमलाविरुद्ध बोलेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजराइली हमलामा अहिलेसम्म दुई तिहाई महिला र बालबालिकासहित आठ हजार पाँच सय प्यालेस्टिनी मारिएको बताएको छ ।
“मैले परामर्शका लागि इजराइलमा आफ्नो राजदूत (मार्गारिटा मन्जरेज) लाई फिर्ता बोलाउने निर्णय गरेको छु, यदि इजराइलले प्यालेस्टिनी नागरिकको नरसंहारलाई रोकेन भने हामी त्यहाँ रहने छैनौँ”, कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।
अरब संसारबाहिर सबैभन्दा धेरै प्यालेस्टिनीहरूको जनसङ्ख्या भएको चिलीले मङ्गलबार इजराइलको ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको अस्वीकार्य उल्लङ्घन’ को विरोधमा इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी अध्यक्षता गरेको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युद्धविरामका लागि आग्रह गर्नुभएको छ ।
इजराइलविरुद्ध प्यालेस्टिनी आतङ्कवादीहरूको ‘आतङ्ककारी हमला’ ले गाजामा ‘लाखौँ निर्दोष’ को हत्यालाई औचित्यपूर्ण मान्न नसकिने उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा लाइभ सम्बोधनमा भन्नुभएको छ, “हमासले इजराइलविरुद्ध आतङ्कवादी हमला गरेका कारण इजराइलले पनि लाखौँ निर्दोष मानिसलाई मार्नुपर्छ भन्ने होइन ।”