काठमाडौँ — काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार उनीहरुबाट ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।