ब्राजिल — उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थानहरुले जनाएको छ ।

दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १० यात्रुको दुःखद निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन । 

यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् । स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो । अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।