प्रतिकात्मक तस्वीर

हेटौँडा — हेटौँडा–धरान चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ । हेटौँडा बजारबाट बकैया गाउँपालिकाको जुरेलीतर्फ जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस सडकबाट अन्दाजी १०–१५ मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बकैया गाउँपालिका ५ का सावित्रा चौलागाईसहित दुई जनालाई हेटौँडामा उपचारपछि थप उपचारका लागि काठमाडौँको मनमोहन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

३४ वर्षीया चौलागाईको टाउकोमा चोट लागेको छ । उहाँका अनुसार घाइतेमध्ये केही सामान्य अवस्थाका उपचारपछि घर फर्किएका छन् । घाइते मध्ये केहीको सन्चो अस्पतालमा र अधिकांशको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी बकैया ७ का वर्ष २० की शुष्मा माझीको टाउको र छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको छ भने बाँकी घाइतेहरुको अवस्था मध्यम रहेको छ ।