दमौली — तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो ।
काठमाडाँै रानीबारी निवासी पारस शाक्यले विसं २०७८ देखि उक्त ठाउँमा आहाना एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर सुरु गर्नुभएको हो । करिब ७० रोपनी पाखो जमिन वार्षिक रु एक लाख भाडा तिर्ने गरी शाक्यले रु दुई करोड ५० लाखको लागतमा रिसर्च सेन्टर सञ्चालन गरिरहनुभएको छ ।
रिसर्च सेन्टरबाट भएको आम्दानीले स्थानीय गरिब, दलित र पिछडिएको समुदायलाई सहयोग गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । रिसर्च सेन्टरबाट स्थानीय बाख्रा तथा कुखुराको अध्ययन अनुसन्धान गर्ने र स्थानीयले पालेका पशुजन्य उपजको नस्लसुधार, उत्पादन र उत्पादकत्व वृद्धि गरी बजारीकरणमा टेवा पु¥याउने लक्ष्य लिइएको उहाँको भनाइ छ ।
रु एक करोडको लागतमा सुधारिएका बाख्राका खोर दुई र रु ७५ लाखको लागतमा स्थानीय कुखुरापालन गर्न खोर निर्माण गरिएकोे रिसर्च सेन्टरका लेखा तथा वित्तीय प्रमुख प्रवीण अग्रवालले बताउनुभयो । यसमा मेघा बैङ्कको ६० प्रतिशत ऋण लगानी रहेको छ । ९० मिटर लम्बाइ र २८ मिटर चौडाइ भएको खोरमा दश कोठा रहेका छन् । उक्त खोरमा माउ बाख्रा, पठ्याङ्ग्री, गर्भवती बाख्रा, बिरामी र खसी बोका छुट्टाछुट्टै राख्ने गरिएको छ । ठूलो खोरमा पाँच सय र सानो खोरमा तीन सय बाख्रा अटाउने दुईवटा खोर निर्माण गरिएका छन् ।
सेन्टरमा हाल जमुनापारि, बोयर र स्थानीय खरिजातका ६० माउ बाख्रा, पठ्याङ्ग्री एक सय ५०, खसी बोका एक सय ५० र उन्नत जातका ब्याड बोका तीन गरी तीन सय ६३ बाख्रा रहेका छन् । त्यस्तै, रु ७५ लाखको लागतमा दुई कुखुराका खोरसमेत निर्माण गरी कुखुरापालन सुरु गरिएको छ ।
सोही रिसर्च सेन्टरमा आठ हजार क्षमताको स्थानीय जातको कुखुराको खोर निर्माण गरिएको छ । उक्त खोरमा तीन हजार पाँच सय कुखुरापालन गरिएको छ । रिसर्च सेन्टरले स्थानीय छ जनालाई रोजगारी दिएको छ । रिसर्च सेन्टरमा एक व्यवस्थापक, एक बजार प्रतिनिधि र चारजना हेरालु छन् ।
बाख्रा र कुखुराको स्वास्थ्य परीक्षणका लागि हप्तामा एक दिन पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । सेन्टर सञ्चालनका लागि आहारविहार र स्याहारसुसार, उपचार र कर्मचारी तथा कामदारको पारिश्रमिकमा मासिक रु तीन लाख २० हजार खर्च हुने गरेको प्रबन्धक सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।
यहाँबाट स्थानीय कुखुरा जिउँदो भाले रु सात सय प्रतिकिलो र पोथी रु पाँच सयमा बिक्री गरिएको छ । खसी जिउँदो प्रतिकिलो रु पाँच सय ५० मा बिक्री गरिएको छ । उहाँले भन्नुभयो, “गत वर्ष खसीबोका, स्थानीय कुखुरा र केरा बिक्रीबाट रु २४ लाख आम्दानी भयो, हामी अहिले लगानीको अवस्थामा छौँ ।” सेन्टरले उत्पादन गरेको जैविक मल स्थानीय किसानलाई उपलब्ध गराउने र स्थानीय किसानबाट मौसमी तथा बेमौसमी घाँस खरिद गर्ने गरिएको जनाइएको छ ।