आदरणीय दाजु,
सादर प्रणाम !

कुशल रही कुशलताको कामना गर्दछु । दाजु, नेपाली घर आँगनमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वले पदार्पण गरिसकेको छ । तर तपाईले विदेशमै बस्ने निर्णय गर्नुभयो भन्ने सुनेर हामी सबैलाई स्तब्ध तुल्यायो । दाजु,हजुरले घर छोडेको पनि लामो समय बितिसक्यो । घरमा बुढा भएका बाआमा कतिबेला छोरो फर्केला भनेर तपाईंकै प्रतिक्षामा हुनुहुन्छ । तपाईंमाथि बाआमाको ठूलो भरोसा छ । तपाईंले नै म र बहिनीलाई पनि सुन्दर भविष्यको मार्गमा डोर्याउनु छ । अनि यो घर राम्ररी सम्हाल्ने दायित्व पनि तपाईंकै काँधमा छ ।

म मात्र होइन, डुब्ने बेलाको घामजस्तै हुनुभएका बा–आमा, ती सानी बहिनी तपाईं फर्किने आशामा तपाईंलाई कुर्दै पिँढीको डिलमा बसेर बाटो हेर्दै झोक्र्याईरहेका छन् । मीठो मसिनो खाने, नयाँ लुगा लाउने र परदेशी सन्तानसँगको न्यानो मायामा रमाउने लालचामा हजुर आउने देउरालीको त्यो उकालो बाटोतिर आँखा तान्दै चौतारीमा पर्खिबसेका छौँ ।

हाम्रा परम्परा र महत्व बोकेका धर्म र संस्कृतिलाई विदेशी संस्कृतिले विस्थापित गरिसकेको छ । आफ्नै छरछिमेक पनि पराई जस्ता भैरहेका छन् । एक पटक सम्झनुस् त ती हिजोका दिनहरु । हाम्रा ती सेता कमेरा, रातो माटो र हरिया गोबरले लिपेर चिटिक्क पारिएका घरहरु । पाटी पौवा, चौतारीमा बसेर रमाइलो गर्ने हाम्रो परम्परा । आज विलाशी जीवनको सिकार बनिरहेको छ । तपाईंले गाउँ छोडेर गएको पनि झण्डै एक दशक भैसक्यो । हेर्दाहेर्दै गाउँमा मोटरबाटो आयो । बिजुली बत्ती बले । विकास र आधुनिकीकरणका नाममा मोबाइल, फेसबुक, टेलिभिजन च्यानल, गाडी र मोटरसाइलकले साम्राज्यवादको नीति अवलम्बन गरेको अनुभूति भैरहेछ ।

दाजु, साँच्चै गाँउले विकासको नाममा काँचुली फेरिसकेको छ । तपाईं घर फर्कनुस् न अब । काम र मामका लागि विदेशमै बस्नुपर्छ भन्ने छैन । यहि देशमै बसेर पनि धेरैले धन र सम्मान कमाएका छन् । तपाईसँगै पढेकी पम्फा दिदी आफ्नै देशको प्रतिनिधित्व गर्दै बालकदेखि वृद्धसम्मलाई जनचेतनामूलक कुरा सिकाएर देशमा समृद्धि र विकासको उज्यालो छर्दै हुनुहुन्छ । त्यस्तै तपाईकै साथी देवेन्द्र, रमेश, गोविन्द र प्रकाश पनि आफ्नै देशमा आफ्नै गाँउको पौरख गरेर आफ्नै बाआमासँग खुशी भएर बाँच्नुभएको छ ।
हिजो गोठालो जाँदा, घाँस दाउरा जादाँको हाम्रो गाउँलाई शहरिया रहन–सहनले गाँजेको छ । हिजोको आफ्नोपनको परिवेश शहरी आचरणमा परिवर्तन भएको छ । छर छिमेकीको अ‍ैंचो–पैंचो, सहयोगी भावना पनि अब परदेशी भएको छ । तपाई नहुँदा त गाँउ नै विरानो भएको महशुस हुन थालेको छ । आफ्नो गाम–वेशी, डाँडा–पाखा, मात्र नभै देशै विरानो बनेको छ । हिजो छिमेकीलाई दुःख पर्दा सहयोग गर्नुपर्छ, साँझ बिहानको गर्जो टार्न अ‍ैंचोपैंचो गर्नुपर्छ भन्ने भावना थियो । तर अहिले त सात दिनसम्म चुलो नबलेनी कहिँ कसैले सहयोग नगर्ने भैसके । हायः मेरो देश, मेरा यी गाम–बेशी, डाँडा–पाखा ।

हिजो पल्लाघरे काकाको खसी यति धार्नी र विसौली भन्थे, कान्छा बाले यति धार्नीको खसी काटे भन्थे, कस्को ठूलो खसी भन्ने हेर्न जाने आउने हुथ्यो । आत्मीय भावना झल्किन्थ्यो । तर त्यो आत्मीय भावना त आज बगरेको मासु पसलमा पुगेछ । गाँउमा एकले अर्कोलाई नगन्ने भएका छन् । तँ भन्दा म के कम भन्ने प्रतिशोधको भावना पैदा हुन थालेको छ ।

बिहानी झिसमिसे नहुँदै आमा र भाउजुहरु भक्र्याईं ट्याँइ–भक्र्याईं ट्याँइ गर्दै ढिकीमा धान र चिउरा कुट्ने गर्नुहुन्थ्यो । आफ्ना सन्तानलाई सेलरोटी, आलु केराउको अचार र मीठा परिकार बनाएर खुवाउन जाँतोलाई ¥वाईं ¥वाईं घुमाउँदै चामलको पिठो पिस्ने गर्नुहुन्थ्यो । घरमा कुखुरी काँ गरेर भाले बास्दा खोरमा लाम्काने खसी म्याँम्याँ गर्दै कराउँदा दशैंको रौनक थपिएको आभास हुन्थ्यो ।

लेक र बेसीमा लहलह धानका बालाहरु झुलेका छन् । उत्तरतिर चाँदीझै टिलिक्क टल्कने सेता हिमशिखरहरुले दशैं तिहारलाई नियाल्र्दै शरद् ऋतुको आगमनलाई स्वागत गरिरहेको छ । भञ्ज्याङ्को वरमा हालिएको त्यो लठ्ठे पिङ्,तपाईको हातले धकेलेर मच्ची मच्ची खेल्दाको ती रमाइला पलहरु, बा आमा र ठूलाबडाको हातबाट टिका लगाँउदा उहाँहरुले दिने उत्प्रेरित आर्शिवादबाट प्राप्त हुने त्यो ऊर्जा आज फेरि मानसपाटलमा ताजा भएका छन् ।
दशैँ आउनु अघिको शरद ऋतुले मन नै हर्षित हुने गर्दथ्यो । हरियाली अनि स्वच्छ वातावरण त्यसमा घर वरिपरि फुलेका फुलहरुले कति आनन्दित हुन्थ्यो मन । घरका भकारीहरुमा मुरीका मुरी धानले भरिएका हुन्थे । टोल टोलका बस्तीहरु मिलेर सार्वजनिक बाटो मठ, मन्दिर , पाटी पौवा सरसफाई गर्न जाँदाको रमाईलो अनि सबै सँगै बसी सेल रोटी र अचार खाँदाको त्यो क्षण अहिले नि सम्झँदा आन्नद लाग्छ ।

तपाईं जन्मे हुर्केको गाउँ आज विस्तारै बिरानो बन्दै गएको छ । दाजु, घरमा बा–आमा तपाईं आउनुहुन्छ भन्ने आशामा पर डाँडातिर गोधुली साँझसम्म आँखा तानीतानी हेरेर दिन बिताइरहनु भएको छ । बारीका कान्ला र ढिस्कामा सयपत्री, मखमली र गोदावरी पूmलहरु लटरम्म फुलेर तपाईंलाई पर्खी बसेका छन् । तपाईंको निधारमा मैले र बहिनीले लगाइदिने सप्तरङ्गी टिका अनि माला उन्ने दिन नजिकिसक्यो । तर तपाईंको आउने दिन अझै अत्तोपत्तो छैन । गाम–वेशीका खेतका फाँटमा पहेंलपुर धानका बालाहरु लहलह झुलिरहेका छन् । लिङ्गे पिङ्ग, रोटे पिङ्ग र जाँते पिङ्गले पनि तपार्इंलाई नै पर्खिबसेका छन् ।

देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर होनाहार युवाहरु विदेशीको गुलाम बनेका छन्, लाखौं युवाहरु खाडी मुलुकमा रगत पसिना बेचेर आफ्नो अस्मितालाई लुटाउन बाध्य बनेका छन् । घरपरिवारलाई राम्रो लाउने मिठो मसिनो खुवाउने र सुख सुविधा होस् भन्ने सपना साँधेर धनआर्जनका नाममा युवाशक्ति सस्तो श्रम बेचेर विदेशी भूमिमा आफ्नो रगत पसिना बगाइरहेका छन् । हाम्रा शाषकहरु त्यही रेमिटेन्समा डुबुल्कि मारिरहेका छन् ।

आदरणीय दाजु, देशलाई परचक्रीको जञ्जिरबाट जोगाउनु छ । मुक्ति दिलाउनु छ । देशमा शान्ति र समृद्धि ल्याउनु छ । भ्रस्ट र दलालहरुलाई निमिट्यान्न पार्नुछ । दशैं तिहार, छठ र नेपाल सम्वत् जस्ता नेपाली पहिचान बोकेका विशिष्ट चाडपर्वले तपाईं जस्तै विदेशी भूमिमा रगत पसिना बेचिरहेका होनहार दाजुभाई, दिदीबहिनीको खोजि गरिरहेको छ । आउनुस् । छिट्टै फर्कनुस् । आउनुस्, अब देश बनाउनु छ । हामीले हाम्रो धर्म र संस्कृतिलाई जोगाउनु छ, संरक्षण गर्नु छ । कुरितीलाई फाल्नु छ । उही तपाईंलाई अगाध माया गर्ने बहिनी ।

गैरी खेतमा मार्सी धानका बाला लर्किसके
तिमीसँगै लाउर गका सबै फर्किसके ।

आयो भन्छन् दसैं अनि तिहार रङ्गिचङ्गी
तिमी छैनौ खुशी छैन, छैनन् साथीसङ्गी ।

बुढा भाका बाआमा नि खल्लो मानिराछन्
छोरो कहिले आउला भनी दिन गनिराछन् ।

कहिले होला हजुरको दर्शन पाउने हाम्ले
छिनघरी फुर्सद हुन्न मेलापातको कामले ।

फुलेका छन् मखमली र सयपत्री फुल
बुढाभाका बाआमा र बहिनीलाई नभुल ।

तिम्रै काखमा हुर्की खेलि तिम्रै काखमा बढे
तिम्रै साथमा खुशी हुँदै एम.ए सम्म पढे ।

कमेरो र रातमाटोले घर लिपिसके
मखमलिको माला उन्न फुल टिपिसके ।

छिट्टै फर्कि आउ दाजु यो बैनीकै लागि
आफ्नै देश प्यारो भनी दुःख पीर त्यागी ।।